नेपाल टेलिकमद्धारा भ्वाइस ओभर एलटिई सेवाको परीक्षण शुरु


काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु गरिएको हो ।

उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण शुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

उनका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ ।

कसरी लिने सेवा सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ ।

यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ ।

लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ । भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ ।

आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।