ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने, १ः०.५७४ सेयर स्वाप रेसियो प्रस्ताव


काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

कम्पनीले रोयल फर्मास्युटिकल्स प्राप्ति गर्ने विशेष प्रस्तावसहित१३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २६ गते चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा बस्ने गरी साधारणसभा बोलाएको हो ।

सभामा रोयल फर्मास्युटिकल्स लिमिटेडलाई १ः०.५७४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्ने विशेष प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ ।

उक्त अनुपात अनुसार रोयल फर्मास्युटिकल्सको १ कित्ता सेयर बराबर ओम मेगाश्री फर्मास्युटिकल्सको ०.५७४ कित्ता सेयर प्रदान गरिनेछ ।
यसका साथै प्राप्तिसम्बन्धी प्रारम्भिक समझदारीपत्र र सोको संशोधन, प्राप्ति समिति गठन, स्वतन्त्र मूल्याङ्कनकर्ता तथा कानुनी सल्लाहकारको नियुक्ति, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र अन्तिम सहमतिपत्र लगायतका सम्पूर्ण कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लगिने कम्पनीले जनाएको छ ।

प्राप्ति प्रक्रिया तथा कम्पनीको अन्य आवश्यक संस्थागत व्यवस्थाका लागि प्रबन्धपत्र र नियमावलीका सम्बन्धित प्रावधानहरू संशोधन गर्ने तथा विशेष प्रस्ताव कार्यान्वयनका सिलसिलामा नियमनकारी निकाय वा अन्य कार्यालयबाट निर्देशन प्राप्त भएमा संशोधन, परिमार्जन वा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश छ ।

विशेष प्रस्तावबाहेक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनी समूहबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि तय गरिएको छ ।

साधारणसभा तथा सञ्चालक निर्वाचन प्रयोजनका लागि कम्पनीले मङ्सिर १५ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।