नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन साढे २१ अर्ब माथिको कारोबार


काठमाडौं । केहिदिन यता नेपाल स्टक एक्सचेन्जले नयाँ रेकर्ड राख्दै आएको छ । आज साताको पहिलो दिन आइतबार (साउन ३१) कारोबार रकममा उछाल आएको छ । नेपालको सेयर बजारमै सबैभन्दा धेरै २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा नयाँ रेकर्ड कायम भएको छ ।

समग्र नेप्से २४.८८ अंकले घटे पनि खरिदबिक्री रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । मौद्रिक नीतिमा भएको एउटा व्यवस्थाले नेप्से सूचक भने केही अस्थिर बनेको हो ।

बजार घटे पनि उत्पादनमूलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहमा भने बढेका छन् । ऋणपत्र जारी गर्न दिने व्यवस्थाले माइक्रोफाइनान्स समूह सकारात्मक बनेको लगानीकर्ता बताउँछन् ।

कूल २२२ वटा कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि यही जेठ ३० गते, आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो।