प्रदेश दुईको सर्लाही सबस्टेसनबाट विद्युत् सेवा प्रवाह सुरु


काठमाडौ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२/३३ केभीए सबस्टेशन आयोजनाले शुक्रबारबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्यत् सेवा प्रवाह सुरु गरेको छ ।

करिब रु ४७ करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले नजिकिँदै गरेको पर्व तिहारलाई झिलिमिली बनाउने भएको छ ।

लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सबस्टेशन निर्माण गरिएको जनाइएको छ ।

सबस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताए ।
कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरुले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताए ।

ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न सुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह सुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताए ।

उनका अनुसार समयमै काम सकेर दसैँदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकामा लकडाउनका कारण समस्या परेको र अबको एक महिनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि विद्युत् प्रवाह भने आजैबाट सुरु भएको छ ।

सबस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ छ ।

जिल्लाका तीन वटै सबस्टेशन ३३/११ केभीएका मात्र रहेका कारण समस्या हुँदै आएको थियो । अब यो सबस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ ।

अहिले तीनवटै सवस्टेशनलाई धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सबस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै हरिपुर र मलङ्गवाका सबस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ ।

बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो । त्यही समस्या समाधान गर्न जिल्लामै सबस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताए । यो सबस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ ।

उनका अनुसार हरिपुर र मलङ्गवा सबस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब रु ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५/०७६ देखि सबस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।

कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम आव २०७८/०७९ भित्रैसम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताए ।

जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु-याउनका लागि सवस्टेशन निर्माणको काम गरिएको र अबको करिब एक महिनामा निर्माण सम्पन्न हुने उनको भनाइ छ । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ । (रासस)