धानबाली क्षति अपडेटः मुलुकभर प्रदेशमा ८ अर्ब २७ करोडको क्षति, सबै भन्दा बढी क्षति लुम्बिनीमा (अपडेट) *


अनुप आचार्य-

काठमाडौं । अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको ६ प्रदेशको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार सात प्रदेशमा धानबालीमा ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको क्षति भएको छ ।

हालसम्म एक लाख ७१ हजार ७६ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।
प्राप्त विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड मूल्य बराबरको धानबालीमा क्षति पुगेको छ ।

दोस्रो ठूलो क्षति सुदूरपश्चिममा एक अर्ब ९१ करोड मूल्य बराबरको छ भने प्रदेश १ मा ८० करोड मूल्य बराबरको क्षति भएको छ । प्रदेश २ मा ५६ करोड, गण्डकीमा कर्णालीमा ३० करोड, गण्डकीमा १३ करोड र बागमतीमा ५ कराेड ८० लाख मूल्य बराबरको क्षति भएको मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयले सातै प्रदेशमा अध्ययनका लागि टास्कफोर्स खटाएको छ भने प्रदेश र पालिकाहरुलेसमते क्षतिको विवरण संकलन गरिरहका छन् ।

कृषिसँग सरोकार राख्ने विभिन्न संगठनहरुले यथासिघ्र क्षतिको विवरण सार्वजनिक गर्दै कृषकलाई राहत वितरण गर्न माग राख्दै आएका छन् ।

* मन्त्रालयले तथ्यांक सच्याइपठाए अनुसार हेडलाइन र तथ्य सच्याइएकाे ।