व्याजदरको प्रत्यक्ष प्रभाव सेयर बजारमा, १०१ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार सेयर बजारमा १०१ अंकले घट्दा नेप्से परिसूचक २७०० अंकमा झरेको छ ।

बैंकहरूले फागुन आजदेखि लागुहुने गरि निक्षेपको ब्याजदर बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । अब वाणिज्य बैंकहरूमा तरलता संकट भएपछि अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुराएका छन् ।

सेयर बजार सुक्ष्म सुचनाले पनि तलमाथि हुने र सूचनाकै आधारमा पनि कारोबार हुने हुनाले केहिदिन यता समग्र सेयरबजारलाई प्रभावित पार्ने खालका समाचारहरु आएकोले पनि बजारमा केही करेक्सन भएको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार नेप्सेमा कारोबार रकममा अपर तामाकोशीले अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड ८४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नबिल समृद्धि फण्ड २ का लगानीकर्ताले कमाएका छन् । उक्त फण्डको सेयरमूल्य १.९४ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै अपरतामाकोशीका लगानीकर्ताले गुमाएका छन् कम्पनीको सेयरमूल्य ८.३७ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको एक करोड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।