सीजी एग्रोले सुरु गर्यो नानो युरियाको विक्री


काठमाडौं । चौधरी ग्रुप अन्तरगतको सीजी एग्रोले नेपालको कृषि बजारका लागि नानो युरिया मलको बिक्री वितरण सुरु गर्ने भएको छ । आइतबार ललितपुरमा एक कार्यक्रमका बीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नानो युरिया मल नेपाली बजारमा भित्रिएको घोषणा गरेका हुन् ।

नेपालमा कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन भारतको ‘भारतीय किसान उर्वरक सहकारी’ ले उत्पादन गरेको सिजी (आइएफएफसिओ) नामको नानो युरिया मल किसानको सहज पहुचको लागि नेपाल भित्र्याएकाे चौधरीले बताए ।

नानो प्रविधिबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रा घटाउँछ । परम्परागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाइ बिरुवाको पातमा छर्कने गरिन्छ । २.४ मि.लि नानो युरियालाई १ लिटर पानीमा मिसाएर बिरुवामा हाल्नुपर्ने जनाइएको छ ।