अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानिकपूर्वक लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए ।

पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे ।

उनले भने,“अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । यद्यपि सावधानिक रुपमा ठिक ढंगले अघि बढ्यौं भने हामीले चाँडै सुधार गर्न सक्छौं ।”

उनले थपे “म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको छु र अहिले भित्र बसेर पनि विभिन्न सुझाव लिइरहेको छु। बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रैछ त्यसको महसुस मैले पनि गरिरहेको छु ।”

अहिले सबैको साझा सरोकार अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने भएकोले आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्न मन्त्री पौडेलको भनाई छ ।

सबल अर्थतन्त्र निर्माणका लागि एक एक इटा थप्दै जाने काम गर्नु पर्ने भएकाले त्यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक भएको उनले बताए ।

अर्थमन्त्री पौडेलले अघिल्लो कार्यकालमा आर्थिक पत्रकारहरुको सहकार्य र समन्वयले अर्थतन्त्र सुधारसँगै विकासका सहयोग पुगेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता गरे ।

संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सकारसँग सहकार्य गर्दै एक/एक वटा इटा थप्ने काम गर्न उनले आग्रह समेत गरे ।

भेटघाट कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिदैं अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरे । यस्तै अर्थ मन्त्रालयमा पत्रकारहरुले सूचना प्राप्त गर्न कठिन भएकाले रियल टाइममै सूचना उपलब्ध गराइदिन आग्रह गरे ।

अध्यक्ष ढकालले भने,“अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी छ भने पत्रकार भेटघाटलाई नियमित गर्नुपर्छ ।”

पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए । त्यसका लागि नाफिज सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए ।