कुण्डलीमा धन र आम्दानी


आकाश गङ्गामा रहेका तेजमय पिण्डहरूबाट प्राप्त हुने विकिरण वा परावर्तित विकिरणबाट पृथ्वीमा रहेका मानव जगत्मा यसको प्रभाव प्रत्यक्ष पारेको हुन्छ । अन्तरिक्षको १२ भागलाई विभाजन गरेर १२ राशिको संज्ञा दिइएको छ । जसले कुन राशिमा, कुन भावमा कुन ग्रह बस्दा कस्तो प्रभाव पार्छ ज्योतिषशास्त्रले त्यसको अध्ययन गर्दछ । 

ज्योतिष तथा पण्डित अनिरुद्र भट्टराईले आकाश गङ्गामा रहेका तेजमय पिण्डबाट आउने विकिरणले प्रभाव पार्ने बताउँछन् । उनले भने,“आकाश गङ्गामा रहेका ग्रहहरूले नै प्रभाव पारिरहेको हुन्छ । जसले मानिसको व्यवहार कस्तो हुने, कति धनी बनाउने ती सबै ग्रहहरूमा नै निर्भर रहेको हु्न्छ ।”

एउटा मानिसले आपूm जन्मँदा नै आफ्नो भाग्य लिएर जन्मिएको हुन्छ । बच्चा जन्मँदा रहेको ग्रहहरूको स्थितिमा नै मानिसको भाग्य रहेको हुन्छ । हामीले देख्न पनि सक्छौं सबैको भाग्य एउटै हुँदैन कोही धेरै धनी पनि हुन्छन् भने कोही धेरै गरिब छन् ।ज्योतिष तथा पण्डित हरिप्रसाद सोडारी ग्रहकै आधारमा मान्छेको भाग्य हुने बताउँछन् । उनले भने,“सबै व्यक्ति धनी हुन पनि सक्दैनन्, कोही प्रधानमन्त्री हुन्छन्, कोही गरिब दरिद्र लागेको हुन्छ । यी सबै आकाशमा रहेका ग्रहले नै प्रभाव पारेर हुन्छन् ।”

कोही व्यक्ति कुनै काम गर्दा एकै पटकको प्रयासमा सफल हुन्छन् भने कोही व्यक्ति पटक पटक गरिसकेपछि मात्र सफल हुन्छन् । किन सबै व्यक्तिको गुण, धन सम्पत्ति, भाग्य फरक हुन्छ ? सबैले जन्मँदा नै आफ्नो भाग्य लिएर जन्मिएका हुन्छन् । त्यसकारण सबै धनी र सबै गरिब पनि हुँदैनन् । “कुनै व्यक्ति जन्मिँदाको वखत आकाशमा रहेका ग्रह गोचरलाई उतारेर जन्म कुण्डली निर्माण गरिन्छ । कुण्डलीमा १२ वटा भावहरू, ९ वटा ग्रह, २७ वटा नक्षत्रको अधिपत्य रहेको हुन्छ । १२ वटा भावहरूमध्ये पहिलोलाई लग्न, दोस्रोलाई धन एवं प्रकारले भावको विवेचना गरिएको हुन्छ,” ज्योतिष तथा पण्डित लक्ष्मण भण्डारीले भने । कुण्डलीमा बाह्र भाव रहेका हुन्छन् । ती बाह्र भावको आफ्नै विशेषता रहेका छन् । ती १२ भावले विभिन्न प्रतिनिधित्व गरेका हुन्छन् । जस्तै कुण्डलीको प्रथम भाव (लग्न)ले शरीर, वर्ण, रंग, आकृति, बल, मस्तिष्क, स्वभावको बारेमा बताउँदछ भने द्वितीय भावले धन सम्पत्ति, कुटुम्ब, वाणीको बारेमा बताउँदछ । 

यस्तै, एकादश भावले, आय, लाभ, उपलब्धिको बारेमा बताउँदछ । सबै भाव एक आपसमा सम्बन्धित हुने भएकोले कुण्डलीको अध्ययन गर्दा सबैको विचार गर्नुपर्दछ । जातकको एउटा कुण्डलीले सबै बताउँछ । हामी यहाँ धन र आम्दानीको बारेमा कुरा गर्ने छौं । 

जातकको जन्म कुण्डलीको द्वितीय भावलाई धन भाव भनिन्छ । त्यही द्वितीय भावको आधारमा जातकको कति सम्पत्ति बचत रहेको छ भनेर थाहा पाउन सकिन्छ । कुण्डलीको एकादश स्थानलाई आम्दानीको भाव भनिन्छ । आम्दानी विचारको लागि दशम भाव र नवम भावको पनि विशेष भूमिका रहेको हुन्छ । ज्योतिष तथा पण्डित भट्टराईले आम्दानीको एकादश भाव मात्र हेरेर नहुने बताउँछन् । उनले भने,“एकादश भाव आयको हो यसबाट आम्दानी हेरिन्छ । त्योसँगै दशमभाव (कर्म भाव) र नवम भाव (भाग्य भाव) को पनि विशेष महत्व हुन्छ ।”

धनी बन्नलाई राशि, ग्रह, नक्षत्र, युति र योग पनि चाहिन्छ । धनी बन्नको लागि द्वितीय भावमा रहेको राशि र द्वितीय भावको राशिस्वामी कुन भावमा बसेको छ । कुन ग्रहको दृष्टि रहेको छ सबैको विचार पुर्याउनुपर्दछ । यदि द्वितीय भावमा आफ्नो राशिमा वृहस्पती ग्रह बसेको छ भने त्यस जातकको धन सम्पत्ति धेरै हुन्छ । त्यसमा कुनै पनि खराब ग्रहको दृष्टि छ कि छैन भनेर पनि विचार पुर्‍याउनु पर्दछ । द्वितीय स्थानको मालिक अन्य वर्ग कुण्डलीहरूमा पनि शुभ वर्गमा रहेको छ भने बिना प्रयास वा सामान्य प्रयासबाट पनि राम्रो आर्थिक लाभ हुन्छ । 

उनले भने,“द्वितीय स्थानको मालिक एकादश स्थानमा र एकादश स्थानको मालिक द्वितीय स्थानमा छ भने अथवा कुनै स्थानको मालिक केन्द्र त्रिकोणमा भए जातक धनी बन्दछ ।”

ग्रहले निर्माण गर्ने युति (एकभन्दा बढी ग्रह एकैस्थानमा बसेको अवस्था), ग्रहको दृष्टि, शुभ ग्रह, राशिस्वामीको स्थान पनि महत्वपूर्ण हुने गर्दछ । धन बचतको लागि द्वितीय स्थान नै महत्व हुने आम्दानीको लागि एकादश स्थान, व्यवसायको लागि दशम स्थान र घर, जग्गा, सवारी साधनको लागि चतुर्थ स्थानको महत्व रहेको हुन्छ । जसको कारणले आम्दानी विभिन्न पाटोबाट हुने देखाउँछ । 

ज्योतिष तथा पण्डित हरिप्रसाद सोडारी धनको लागि द्वितीय स्थानको कुनै पनि विकल्प नभएको बताउँछन् । उनले भने,“धन बचतको लागि द्वितीय स्थान बाहेक कुनै पनि विकल्प नभए पनि आम्दानीको लागि एकादश भाव, दशम भाव र चतुर्थ भाव पनि रहेको छ ।” कुण्डलीमा आफ्नो राशिमा कति ग्रह बसेका छन्, उच्च राशिमा कति ग्रह बसेका छन्, ग्रहको युति शत्रु मित्रसँग छ कि छैन, शत्रु ग्रहसँग युतिमा बसेको छ कि छैन त्यो सबै विचार गरेर कुण्डलीबाट धन र आम्दानीको बारेमा थाहा पाउन सकिन्छ। 

कुण्डलीमा युति (एक भन्दा बढी ग्रह एउटै भावमा बसेको) भएको अवस्थामा पनि धन र आम्दानी फरक हुने बताउँछन् ज्योतिष तथा पण्डित अनिरुद्र भट्टराई । एउटा राशिमा एकभन्दा धेरै ग्रह बसेको छ भने त्यसलाई युति भनिन्छ । कुण्डलीमा जुन ग्रह पनि युति बनाएर बसेको हुनसक्छ । 

धन भाव र एकादश भावका राशि स्वामीको युति पनि महत्वपूर्ण हुन्छ । कुण्डली विश्लेषण गर्दा एकातिरबाट नभई सबैतिर मिलाएर हेर्नुपर्ने ज्योतिष तथा पण्डित हरिप्रसाद सोडारी बताउँछन् । “एकतिर भाव मात्र नभई सबैलाई मिलाएर हेर्दा प्रभावकारी हुन्छ,” उनले भने । 

धन कमाउने भाव, राशि, ग्रह, युति सँगै विभिन्न योगहरूको पनि भूमिका रहेको हुन्छ । कुण्डलीमा विभिन्न योगहरू बनेको अवस्थामा पनि जातक धनी बन्न सक्दछ । कुण्डलीमा भएको योगले पनि जातकलाई धनवान् बनाउँदछ । जस्तो लक्ष्मी योग भएको जातक धनी हुन्छ । जस्तो, नवम् स्थानको मालिक केन्द्र स्थानमा आफ्नो मूलत्रिकोण राशिमा भए लक्ष्मी योग बन्दछ । 

ज्योतिष तथा पण्डित अनिरुद्र भट्टराई विभिन्न योगले धनवान् बन्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । त्यसमा पनि शुभ ग्रहबाट बनेको योग हुँदा राम्रो कामबाट आर्थिक लाभ र पापग्रह योग कारक भए पापकर्मबाट धन लाभ हुने उनले बताए । उनले भने,“धनवान् बन्नको लागि विभिन्न योग हुन्छ । त्यसमध्ये एउटा योग लक्ष्मी योग पनि हो ।” नवम् भावको मालिक केन्द्रस्थानमा उच्च राशिमा भए पनि लक्ष्मी योग हुने उनले बताए । 

पछिल्लो समय नेपालमा अर्को पद्धतिबाट पनि कुण्डली अध्ययन गर्न लागिएको छ । जसलाई कृृष्णमूर्ति ज्योतिष प्रणाली (केपी पद्धति) भनिन्छ । 

यो प्रणालीमा ग्रह कुन नक्षत्रमा बसेको छ, नक्षत्रको स्वामी कुन हो र कुन भावमा रहेको छ, नक्षत्र स्वामीको राशि कुन कुन भावमा रहेको छ, त्यस अनुसार फलादेश गरिन्छ ।

केपी पद्धतिमा पनि जन्म कुण्डली अध्ययन गर्दा साधारण अवस्थामा दोस्रो भावलाई धन भाव भनेर बुझिन्छ । दोस्रोे भावको अध्ययन गर्नुपूर्व कुण्डलीबाट जातकको लग्न जसलाई काविलियत भनिने पण्डित तथा ज्योतिष लक्ष्मण भण्डारी बताउँछन् । 

“तृतीय भाव पराक्रम, छैटौं भाव सफलता अथवा प्रतिस्पर्धी या जसको साथ कारोबार गरिन्छ, उसको व्यय स्थान, दशम भाव जसलाई नाम, प्रशिद्धि तथा कर्मस्थान भनिन्छ भने एकादश भावलाई सफलताको स्थान भनेर बुझिन्छ ।,” उनले भने, “व्यक्तिमा धन कमाउनको लागि काबिलियत, पराक्रम, सफलता, कर्म, कर्तव्य र लाभहानी आदि कुराहरूको अध्ययन गर्नु पनि अति आवश्यक पर्दछ ।” केपी पद्धतिअनुसार धनको बारेमा अध्ययन गर्दा १,२,३,६,१० र ११ यी भावहरुको विचार अनिवार्य गर्नुपर्ने उनले बताए । 

यी ६ भावहरूमध्ये छैटौं र एकादश भावलाई राम्रो धनस्थान मानिन्छ । उनका अनुसार द्वितीय, दशम अनि लग्न र तृतीय भावको अहम भूमिका रहन्छ । यदि कुण्डलीमा यी छ स्थानको उपनक्षत्रस्वामी यिनै छ स्थानको ग्रहको नक्षत्रमा स्थित छन भने जातक अर्वौपतिको सुचिमा गनिने उनले बताए । द्वितीय स्थानको उपनक्षत्र स्वामी छैटाैं र एकादश भावसँग कनेक्सन भएमा जातक बहुत धनी हुनेछ । 

केपी प्रणाली अनुसार द्वितीय स्थानको उपनक्षत्र स्वामी २ र १० भावसँग कनेक्सन भए जातकसँग राम्रै पैसा हुनेछ, मान सम्मानले समाजमा रहनेछ । द्वितीयस्थानको उपनक्षत्र स्वामी १ र ३ भावसँग कनेक्सन भए धनस्थिति  ठिकै हुनेछ भने जातकलाई पैसा कमाउन मेहनत गर्नुपर्ने हुन्छ ।