इकोनोमिक मिडिया सोसाइटीसँग सहकार्य गर्न सरकार तयार छः अर्थमन्त्री पौडेल


काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपालसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा इकोनोमिक मिडिया सोसाइटीको नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले सोसाइटीसँग मुलुकको आर्थिक समृद्धीका लागि सहकार्य गर्न सधै तयार रहेको बताएका हुन् ।

उनले सोसाइटीका सदस्यहरूको क्षमता विकासका लागि अर्थ मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि पनि आफू तयार रहेको बताए ।

पौडेलले भने, “यो सोसाइटीको क्षमता विकासका लागि गर्न सकिने सहयोगका लागि तयार छ । इकोनोमिक मिडिया सोसाइटी र अर्थ मन्त्रालयको बिचमा जीवन्त सम्वन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ । अर्थ मन्त्रालयलाई सुझाव सल्लाह यहाँहरूले पनि दिने हो । यहाँहरुका जायज सुझावलाई ग्रहण गर्दै हामी पनि अघि बढ्ने हो । यो सासाइटीको क्षमता विकासका लागि गर्न सकिने सहयोग गरिने नै छ । मोडालिटिका बारेमा अहिले मिति भनिहालिन । तर क्षमता विकासका लागि गर्न सकिने सहयोगका लागि अर्थ मन्त्रालय तत्पर छ ।”

साेसाइटीले आर्थिक मिडियाका लागि आयकर १० प्रतिशतमा झार्न र बैंक तथा वित्तीय संस्थाहरूबाट न्युन ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्धको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।

साेसाइटीले लोककल्याणकारी विज्ञापन र सूचिकृत कम्पनीका सूचनाहरू समानुपातिक वितरण हुनुपर्ने भनेकाे छ ।