महासंघ प्रतिनिधिमण्डल र उद्योग मन्त्री बीच भेटवार्ता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटगरी उद्योग व्यवसाय प्रवद्र्धनका बिषयमा छलफल गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अस्थीर ब्याजदरका कारण साना व्यवसायी प्रताडित हुनुु परेको बताएका थिए । इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढेर मुद्रास्फितिमा चाप परेको महासंघका अध्यक्ष गोल्छाले बताए ।

उद्योगहरुमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धि कानुन यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए । कोभिड यता लगानी हुन नसकेका कारण आगामी केहि बर्ष अर्थतन्त्रमा समस्या रहने अध्यक्ष गोल्छाले उद्योगमन्त्रीलाई बताएका छन् ।

भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरेका छन् ।

महासंघको पहलमा तयार भएको स्टार्टअप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न महासंघकातर्फबाट आग्रह गरिएको छ । यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको अध्यक्ष गोल्छाले बताए ।

मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताएका छन् । महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिन समेत महासंघले आग्रह गरेको छ ।

भेटवार्तामा भारतले अहिले गहुं आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट पहल हुनुपर्ने महासंघले जोड दिएको छ । यसबारे भारतसंग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए ।

साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसंगको सहकार्यका लागि आग्रह गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावलाई आफूले अगाडी बढाउने र महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएका छन् ।

मन्त्री भण्डारीले बन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिए । यसैगरि बजेटको मध्यावधि समिक्षा मार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने बताए ।