‘उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्नुस्’


काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।

अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताए ।

उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतीका लागि धन्यवाद दिदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरेका छन् । मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकिरण गरी सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

अग्रवालले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्न आग्रह गरेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराए । उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो खराब कर्जा रहेको बताएका छन् । उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरेका छन् ।