फागुन ८ गतेदेखि आइपीओ निष्काशन गर्दै दोल्ती पावर


काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख बढि कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गर्न लागेको हो । साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने कित्ताको १०५ अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले फागुन २५ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् ।

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले स्थानिय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।