उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबिच भेट, रक्सौल-काठमाडौँ रेलवे निर्माण सम्बन्धमा प्रारम्भिक छलफल


काठमाडौँ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुबीच बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल९भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

त्यस्तै भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले संचालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए ।

जयनगर-कुर्था रेलको संचालन भारतीय कम्पनी ‘केआरसिएल’ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय समेत उठाएका थिए ।

साथै त्यसप्रकारको रेलवे संचालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने क्वात्राले बताए । त्यसो गर्न सके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने क्वात्राको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे संचालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताए । त्यसलाई आफूहरूले आत्मसाथ गर्ने श्रेष्ठको भनाइ थियो । शिष्टाचार भेटका क्रममा रक्सौल काठमाडौँ रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।

क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका छन् । जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताएका छन् ।

श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे खुलेर छलफल भएको थियो ।

त्यस्तै नेपाल र भारतबीच बिभिन्न समयमा भएका सन्धी सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाएको श्रेष्ठको सचिवालयले जनाएको छ ।