बाइक राइडर र ट्याक्सी ड्राइभरलाई श्रम स्वीकृति नदिइने


काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो ।

वैदेशिक रोजगारीका लागि दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका अधिकांश श्रमिक विभिन्न समस्यामा परेको गुुनासो आएकाले अर्को निर्णय नहुँदासम्म यी पदका लागि पूर्वस्वीकृति नदिने निर्णय गरेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले बताए ।

विभागका अनुसार उक्त काममा लागि गएका श्रमिकहरूले तोकिए बमोजिम न्यूनतम तलब समेत नपाउने गरेको गुनासो विभागमा आउने गरेको छ । त्यस्तै सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपर्ने अवस्था समेत रहेको छ ।

उनीहरूलाई सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनबारे जानकारी नहुँदा ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । जसले गर्दा उनीहरूले ठूलो रकम जरिवानाका लागि बुझाउनुपर्ने अवस्था रहेको विभागले जनाएको छ ।