काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार ४ अंकले बढेको छ । गत साता लगातार घटेको सेयरबजार यो साताको कारोबारको पहिलो दिन भने हरियो देखिएको छ ।
देशमा चलेको अस्थिर राजनीति र नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले लघुवित्तबाट ऋण लिन नपाउने र एक भन्दा बढि लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गरेसँगै सेयरबजारमा गिरावट आएको सेयर विज्ञहरु बताउँछन् ।
लघुवित्तमा बढ्दै गएको जोखिम र अर्थमन्त्री परिर्वतन हुने विषयले पनि लगानीकर्ताको मनोबल घट्दै गएको हुनाले बजार प्रभावित बनेको उनिहरुको तर्क छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.५१ अंकले घटेर ३८३.८५ अंकमा झरेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयर घटेको छ भने ८ वटा उपसमूहको सेयर बढेको छ ।
आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रलरी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९४ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन सिटिजन्स म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल २६२ कम्पनीको ६५ लाख १५ हजार ८ सय ५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्