काठमाडाैँ । कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो । एपिएलले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बिहीवार सम्पन्न फाइनलमा एपिएफले प्रश्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन् । यसैगरी लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि बिनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरै २० ओभरमा १ सय ५४ रनको योगफल बनाएको थियो । शुरुवातबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो । सो क्रममा ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो ।
यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशबिरुद्ध १ सय ४४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन् । यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च व्यक्तिगत योगफल हो ।
यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् । यसैगरी इन्दु वर्मा ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए । यो ललितपुर मेयर्स कपमा कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो ।
यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीबिरुद्ध अविजित १ सय ८ रनको साझेदारी गरेका थिए । कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।
एपीएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो । समूह चरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो ।
प्रतियोगितामा नेपाल एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइनन् । यस्तै कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र युवा तिव्र गतिकी बलर निशा शाह बलर घोषित भइन् ।
प्रतिक्रिया दिनुहोस्