अदालत पुगेका ट्रम्पमाथी ३४ वटा अपराधको आरोप


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प म्यानहटनस्थित अदालतमा उपस्थित भएका छन् । अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि ट्रम्पले चुपचाप हेरिरहँदा, अभियोजकहरूले उनलाई आपराधिक आचरणको आरोप लगाए । उनीमाथि लागेका गम्भीर प्रकृतिका ३४ वटा आरोपबारे पढेर सुनाइएको थियो ।

प्रहरी हिरासतमा अदालत पुगेका ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । उनीविरुद्भ पोर्नस्टार स्टर्मी डेनियलसँगको अफेयर र त्यसपछि उनलाई मौन राख्न पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका गम्भीर प्रकृतिका ३४ वटा अपराधको आरोप छ ।

म्याहटन अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा पूर्वराष्ट्रपति ट्रम्पले आफूले कुनै अपराध नगरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू गलत भएको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

अदालतबाट निस्किएर ट्रम्प फ्लोरिडा गएका छन् । न्युयोर्कको म्यानहटनस्थित अदालत परिसरमा ट्रम्पका समर्थकले प्रदर्शन गरेका थिए। ट्रम्प आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।