बहुराष्ट्रिय कम्पनीहरूलाई कृषि क्षेत्रबाट अलग राख्न दक्षिण एसियाली किसान मञ्चको माग


काठमाडौँ । दक्षिण एसियाली किसान मञ्चले बहुराष्ट्रिय कम्पनीहरूलाई कृषि क्षेत्रबाट अलग राख्न माग गरेको छ ।

झापामा भएको सम्मेलनले जारी गरेको घोषणा पत्रमा मञ्चले दक्षिण एसियाली क्षेत्रको खाद्या प्रणालीमा साना किसान, माछा मार्ने र आदिवासी जनजातिको नियन्त्रणमा सुनिश्चित गर्न माग गर्दै बहुराष्ट्रिय कम्पनीहरूलाई कृषि क्षेत्रबाट अलग राख्न माग गरेको हो ।

मञ्चले स्थानीय खाद्य प्रणालाीलाईं स्वदेशी खाद्य प्रजाति,बीउ बैंक र परम्परागत ज्ञानको संरक्षण मार्फत बलियो बनाउन माग गरेको छ ।

मञ्चले भनेको छ,“ किसान संगठनहरूले उत्पादकत्व वृद्धि,खाद्य सुरक्षा र दिगोपनमा केन्द्रित कृषि रुपान्तरणको माग गर्दै आएका छन् । दक्षिण एसियाका सरकारहरूले साना किसानहरूलाई भूमिमा पहुँच,ऋण र अन्य कृषिका लागि गर्नुपर्ने सहयोग र समर्थनहरू प्रदान गर्ने नीतिहरू लागू गर्न माग गर्दछौँ । ”

जमिनमाथि किसानको हक प्रमुख माग भएको भन्दै मञ्चले व्यापक भूमि रुपान्तरणका लागि आव्हान गरेको छ । मञ्चले भनेको छ,“ हामी बहुराष्ट्रिय कम्पनीहरूद्धारा डिजाइन गरिएको र जनताको दिगो विकासमा अन्यायपूर्ण मुनाफामुखीलाई समर्थन गर्ने र जनताको सामूहिक अधिकारलाई अस्वीकार गर्ने बजारहरूद्वारा सञ्चालित नवउदारवादको अन्त्य चाहन्छौँ ।”

काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर मञ्चका अध्यक्ष डा. प्रेम दंगालले विश्व व्यापार संगठन,विश्व बैंक,एसियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोष जस्ता संगठनहरूमा साम्राज्यवादी शक्तिहरूको नियन्त्रण बढ्दै गएको बताए ।

उनले भने,“विश्व स्वास्थ्य संगठनद्वारा निर्देशित उदारीकरण र निजीकरणको नीतिहरूको प्रभावले गर्दा बजार पहुँच र कृषिमा अनुदान घटाउने प्रावधानहरू किसानहरूका लागि हानिकारक साबित भएको छ । हामी यस संगठनलाई कृषि क्षेत्रबाट बाहिर राख्नका लाग लडाइँ जारी राख्छौँ ।”