आईएमई अटोमोटिभ एस्कर्ट्सद्वारा महिलालाई निःशुल्क हेभी इक्यूपमेन्ट अपरेटर तालिम


काठमाडौँ । आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरूलाई लक्षित गरी निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर ब्याक हो लोडर तालिम सञ्चालन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ढकालले जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने बताए । वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने उनकाे भनाइ छ ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौं । तर समय बदलिएकोसँगै, हेभी इक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् ।

तपाईंहरु पनि त्यो पुरातन सोंच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईंहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ”।

उक्त तालिममा १५ जना महिलाहरू सहभागी रहेका छन् ।