‘स्ट्रिट फुड’ प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने सरकारको तयारी


काठमाडौँ । सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याकमा प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम शुरु गरिएको बताइन् ।

काठमाडौंमा आजदेखि शुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा बोल्दै महानिर्देशक वैद्यले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गईरहेको र त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको बताईन् ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामुलक कार्यक्रमलाई पनि स्थानीय तहहरूसँग मिलेर अघि बढाएको जानकारी दिइन् ।

उनले भनिन्,“ केही सस्तो र मिठो खाजाको रुपमा चाँही स्ट्रिट फुडहरु एउटा राम्रो अल्टरनेटिभ हो । सबै जनाले फाईन डाईनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाहीँ फुड प्वाईजनिङ हुनुभएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाईराखेका हुन्छौं । फुड प्वाईजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ ।”

खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तिब्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।