शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरीः मन्त्री बस्नेत


काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने र शिक्षा समितिले यस बारेमा आवश्यक कदम चाल्नुपर्ने उनकाे भनाइ छ ।

केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । सोही प्रसंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए ।
‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थीले मर्नु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ’ मन्त्री बस्नेतले भने, शुल्क तिर्न नसकेर मर्ने स्थिति हुनुहुँदैन सरकारले अावश्यक वातावरण निर्माण गर्नुपर्छ । समितिले यो कुरा अघि बढाउनुपर्छ । मैले आफ्नो जिल्लाका केही पालिकाहरुमा यसबारेमा भनिसकेको पनि छु ।’

साथै उनले बाढी, पहिरो, कोभिड, लगायतको जोखिमबाट मुक्त हुन स्वास्थ्य क्षेत्रमा लगानी बढाइ स्वास्थ्य सेवा सर्वसुलभ र बिस्तार गर्न जरुरी जाेड दिए ।