अर्थशास्त्री डा. वाग्ले भन्छन्,‘आर्थिक विकासका लागि ५ वर्ष पनि धैर्य गर्ने समय छैन’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अबको पाँच वर्ष धैर्य गर्ने समेत समय कसैसँग नभएको बताएका छन् ।

डेमोग्राफिक प्रोजेक्सन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै डा. वाग्लेले पाँच वर्ष धैर्य गर्ने समेत समय कसैसँग नभएको बताएका हुन् ।

नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै उनले भने,“हामीले गरेको डेमोग्राफिक प्रोजेक्सन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं । हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन । सन् २०५० एजेट सोसाइटीमा जान्छौं । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ ।”

सरकार निजी क्षेत्र मैत्री बन्नुपर्ने उनको भनाई थियो । डा. वाग्लेले भने,“निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । कल्याणकारी राज्यलाई धान्न सकिने छ । त्यसरी युवा उद्योगीहरूले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ ।”

उनले छिमेकी मुलुकहरू आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए । नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरूको लगानी नेपालका आकर्षण गर्न नसकिएको डा. वाग्लेको विश्लेषण थियो ।

उनले भने,“ भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ । १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ । विश्वका नम्बर एक कम्पनीहरूलाई नेपालमा आकर्षण गर्न सकेनौं । राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन ।”