छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि शुरु हुने


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुनेभएको छ ।

जेठ ४ गते देखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरूको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।

छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरूको बजारीकरणमा जोड दिईने अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरूले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले भने,“चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ ।”

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यन्हका सामाग्रीहरू, जटिवुटी जन्य बस्तुहरू प्रर्दशनी गरिने चेम्बरले जनाएको छ ।

यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रर्दशनीमा राखिने छ ।

मेलाको करिब डेढ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरूको स्टल रहनेछ ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।