पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक छ :अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदुरपश्चिमको प्रशिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

खप्तडमा पर्यटन पुर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासंघसंगको सहकार्यका लागि आएको सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेशसभा सदस्यहरुको टोलीसंग अध्यक्ष ढकालले उक्त कुरा वताएका हुन् ।

पर्यटकीय लगायतका पुर्वाधार निर्माणका लागि वातावरणीय मुल्याङ्कन र जग्गा प्राप्ति निक्कै कठिन रहेको हुँदा यी बिषयमा सरकारले सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

उनले यसैपटकको बजेटबाट यी बिषय सहज बनाउने हो भने तत्काल लगानी गर्न सकिने पनि बताए ।

सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गरिरहेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माणका लागि टोलीले आग्रह गरेको थियो ।

यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवद्र्धन कार्यक्रममा अध्यक्ष ढकाल लगायत महासंघलाई निमन्त्रणा समेत गरिएको थियो ।

भेटका क्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाहले खप्तडमा भारतीय लगायत आन्तरिक पर्यटकहरूको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको वताइन् ।

खप्तड क्षेत्र पर्यटन बिकास व्यवस्थापन समितिका शेर वहादुर खडकाले प्रस्तावित कार्यक्रमले प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा शाह, खडका, प्रदेश सभा सदस्य दीर्घ सोडारी र दिपक सिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्द वहादुर शाह, व्यवस्थापन समितिका सदस्य हर्कवहादुर सिंह सहभागि थिए ।

यसैगरि महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्ष निरक केसीको समेत सहभागिता थियो ।