आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध


काठमाडौँ । सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ ।

सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मूख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन् ।

भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । धेरै सम्भावनाहरु भएर पनि सुदूरपश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएका छन् ।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेट माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदूरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए ।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए ।

‘सिंहदरबारबाट सुदूरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदर र कर्णालीका योजना सुदुर कर्णालीले नै बनाउने हो ।’