जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख


काठमाडाैँ । नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा र पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन् । 

हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पानीका स्रोतमा पूजा आराधना यो पर्व मनाउने गरिन्छ । यसबारेमा मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पुज्ने गरिन्छ ।  सिठी पर्वका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका पानीका मुहानमा सरसफाइ गरिएको छ ।

यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्य रहेका स्थानमा मनाउने गरिन्छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार समुदायले आज विशेष गरी यो पर्व मनाउने भक्तपुरको क्वाठन्डौंका सूर्यबहादुर मुस्याख्वले बताए । उनले नेवार समुदायले आज पानीका मुहानको सरसफाई गरेर यो पर्व मनाउने गरिएको बताए ।

आजकै दिन कुमार षष्ठी पर्व पनि मनाइएको छ । देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी यो पर्व मनाउने परम्परा छ ।

सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रूपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उहाँको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो । षष्ठीबाट अपभ्रंश भइ कुमार कार्तिकेयलाई सिठी पनि भन्ने गरिन्छ ।