आर्थिक समस्या समाधानका लागि बृहत् गोलमेच सम्मेलनको प्रस्ताव


काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा आज बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए ।

गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने सांसद भट्टराईको भनाई थियो ।

उनले भने,“धेरै देशहरूले जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरुले बृहत आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, निति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजि क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय, लगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ ।”

अहिलेको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? भन्दै गोलमेच सम्मेलनबाट त्यसको साझा अवधारणा बनाउनुपर्ने भट्टराईको जोड थियो ।

उनले भने,“त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन । त्यो मुलुकको अवधारणा हुन्छ । त्यो अवधारणा बोकेर जाऔँ । म अर्थमन्त्रीजीलाई यो हिम्मत गर्नुस् र आजको दिनमा प्याराडाइम सिफ्ट नगरि हुँदैन । यत्तिकै चलन चल्तीको हिसाबले हुँदैन । चलनचल्तीको हिसावले जाने हो भने अर्को वर्ष जेठ १५ गते फेरि एउटा विलौनापूर्ण वक्तव्य सुन्नु बाहेक अर्को कुनै विकल्प छैन ।”

सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरुको २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने प्रस्ताव गरे ।

उनले भने,“ म प्रस्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरू, राजनीतिक नियुक्तिमा भएका मानिसहरू ति सबैको आउँदो वर्ष २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने घोषणा गर्नुस् । हामी प्रतिपक्षको हिसावले तपाईलाई समर्थन गर्छौं ।”

सरकारले ल्याउको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरूलाई निश्चित नगरेको उनको भनाई छ ।