रामेछाप नगरपालिको बजेट रू. ७३ करोड ५८ लाख, पुँजीगततर्फ रू २४ करोड २९ लाख छुट्टायाे


काठमाडौँ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु. ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँको बजेट पेश गरेको छ । रामेछाप नगरपालिकाको १३ औँ नगरसभामा उपप्रमुख बालकुमारी कार्कीले चालु आर्थिक वर्ष २०७९/८० को प्रगति विवरण तथा आगामी आर्थिक वर्षको बेजेट पेश गरेकी हुन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा सञ्चित कोषतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु. १४ करोड ९ लाख, चालु सर्शत अनुदान २७ करोड ४४ लाख, पूँजीगततर्फ सर्शत अनुदान रु. २ करोड २० लाख, विषेश अनुदान पूँजीगत रु. १ करोड, समपुरक अनुदान पूँजीगत रू. १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने जनाएको छ ।

बागमती सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. १ करोड ६१ लाख ४१ हजार, सर्शत अनुदान चालु रु. १ करोड ६६ लाख ६२ हजार, सर्शत अनुदान पूँजीगत रु. १ करोड ४५ लाख, समपुरक अनुदान पूँजिगत रु. २ करोड ९८ लाख, विशेष अनुदान पूँजीगत रु. १ करोड संघीय सरकार राजस्व वाँडफाँडबाट प्राप्त हुने मु.अ.कर, अन्तशुल्क रु. १० करोड ४३ लाख ४६ हजार प्राप्त हुने उल्लेख गरेको छ ।

बागमती सरकारबाट प्राप्त हुने सवारी साधन कर रु. ८ करोड ४ लाख ४४ हजार ६ सय र नगरपालिकाको विभिन्न शिर्षकबाट प्राप्त हुने आन्तिरीक आय बापत रु. १ करोड ६ लाख ८ हजार सहित कुल रु. ७३ करोड ५८ लाख ७३ हजार ६ सय रुपैयाँ आम्दानी हुने नगरपालिका अनुमान गरको छ ।

नगरकार्यपालिकाको कार्यालयतर्फ संघीय तथा प्रदेश सशर्त अनुदान रु. ४५ करोड २६ लाख ९५ हजार ५ सय, विषयगत शाखातर्फ रु. ३ करोड २० लाख ९४ हजार ४ सय र वडा कार्यालयतर्फ रु. ८१ लाख गरी कुल रु ४९ करोड २८ लाख ८९ हजार ९ सय चालुखर्च हुने अनुमान गरिएको छ भने पुँजीगततर्फ २४ करोड २९ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा खर्च हुने अनुमान गरिएको छ ।

विषय क्षेत्र अन्तर्गत बजेट

सामाजिक विकासका लागि रु. २ करोड ७५ लाख ३४ हजार ४ सय, स्वास्थ्यतर्फ ८७ लाख, शिक्षा तर्फ रू. १ करोड ७ लाख महिला तथा बालबालिकातर्फ रू. ८१ लाख ३४ हजार ४ सय विनियोजन गरेको छ । आर्थिक विकासका लागि १ करोड १० लाख, कृषि विकास तर्फ रू. ४० लाख, पशुपंक्षी विकास तर्फ रू. ४० लाख, राजश्व सहकारी, उद्योग तथा उपभोक्ता हित संरक्षण तर्फ रू. ३० लाख विनियोजन गरेको छ । शुसासन तथा संस्थागत विकासतर्फ रू. ११ लाख ६० हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ४६ लाख बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकासका लागि संघ तथा प्रदेश सशर्त, विशेष र समपुरक अनुदानबाट सञ्चालन हुने योजनाहरुको लागि रू. १० करोड १ लाख ४६ हजार, संघ, प्रदेश र सडक बोर्डसँग साझोरीका लागि नगरले व्यहोर्नु पर्ने समपुरक कोषका लागि रू. ४ करोड ९३ लाख, नगरस्तरिय योजना तथा कार्यक्रमका लागि रू. २ करोड ९२ लाख ४० हजार, वडास्तरिय आयोजना तथा कार्यक्रमका लागि रू. ५ करोड २२ लाख ९७ हजार ७ सय ९७ रुपैयाँ ६६ पैसा र विषयगत शाखा तर्फ रू. १ करोड २० लाख विनियोजन गरेको छ ।