काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नविकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न नसकिएको उल्लेख गरे ।
प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बस्नेतले बिमा कार्यक्रममा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजनाहरू बनाउने काम भईरहेको समेत बताए ।
उनले भने,“यो बिमाको सम्बन्धमा धेरै कुरा उठेको छ । यो प्राईभेट हस्पिटल, मेडिकल कलेजहरूले पनि यो सम्झौता अवधि सकिएकाहरूले सुरुमा नबिकरण नगरेको अवस्थाले पनि केही समस्या परेको छ ।”
साँढे १० वर्ष यो वर्ष यस क्षेत्रमा भुक्तानी भईसकेको र ७० लाख नागरिक बिमामा आबद्ध रहेको मन्त्री बस्नेतले जानकारी दिए । बिमा बोर्डले ४६० निकायहरूले निजी, सरकारी र सामूदायिक सबैसँग सहकार्य गरेर काम गरेको उनको भनाई थियो ।
उनले भने,“ यो बिमा बुझ्ने सम्बन्धमा अनलाईन सेवालाई पनि व्यवस्था गरिएको अवस्था हो । जनताका लागि यो धेरै ठूलो सेवा हो तर व्यवहारिक रुपमा यसलाई व्यवस्थापन गर्दै लैजाने कुरामा केही कमीकमजोरीहरू भएको कुरालाई सुधार गर्दै यसको उद्देश्यलाई व्यापक रुपमा अगाडि बढाउने कार्ययोजनाहरू चाँही तयार भईरहेको कुरा पनि म यहाँ निवेदन गर्न चाहेँ ।”
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरूको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस्