आज देखि सिटिजन लाइफको आइपीओमा आवेदन खुला


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई आज भदौ १५ गतेदेखि प्रिमियममा ९० लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रति कित्ता सेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

कम्पनीको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो।

जसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रति सेयर १०० रुपैयाँ यस कम्पनीका कर्मचारीहरुका लागि छुटाएको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले पहिलो चरणमा १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले उक्त आइपीओमा छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

उक्त आइपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।