काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैरआवासीय नेपाली (एनआरएन) फण्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै सापकोटाले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन्। उनका अनुसार सीडीएससीले सेटलमेन्टको जिम्मेवारी लिने र अक्सन मार्केट सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको छ।
“अक्सन मार्केटका सम्बन्धमा हामी छिट्टै नतिजा ल्याउने चरणमा छौँ। यस विषयमा बोर्डसँग हाम्रो समन्वय भइरहेको छ,” उनले भनिन्।
त्यस्तै, एनआरएनको लगानी नेपाल भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक तयारी तथा कार्ययोजना तयार गरिसकेको उनले बताए। अब यसको परिणाम आउन मात्र बाँकी रहेको उनको भनाइ छ।
सापकोटाले लगानीकर्तालाई प्रविधिमार्फत थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनले बताइन्।
करिब ८० लाख लगानीकर्ताको धितोपत्र स्वामित्व तथा होल्डिङको अभिलेख व्यवस्थापन गरिरहेको सीडीएससी प्राविधिक रूपमा बलियो र सक्षम हुनुपर्ने उनले बताए। पूर्वाधारमा कुनै पनि प्रकारको कमजोरी गर्न नहुने भन्दै उनले संस्थाको क्षमता र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माणमा जोड दिए।
सीडीएससीको प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट तथा स्रोतसाधन व्यवस्थापनमा समेत ध्यान दिइने उनकाे भनाइ छ।
सापकाेटाले लगानीकर्तालाई प्रभावकारी सेवा प्रवाहका लागि संस्थाको तर्फबाट गर्नुपर्ने सबै काम अघि बढाउने प्रतिबद्धता पनि गरिन्।


प्रतिक्रिया दिनुहोस्