काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले हाल नियम तथा विनियमावलीले उपलब्ध गराएका सबै लगानी उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताएका छन् ।
आज अर्थसमितिमा भएको पुँजीबजारसम्बन्धि छलफलमा उहाँले नेप्सेमा इक्विटी, म्युचुअल फण्ड, डिबेन्चरलगायतका उपकरणको कारोबार हुँदै आएको जानकारी दिए ।
साथै, ओटीसी (ओभर द काउन्टर) बजारसमेत नेप्सेले सञ्चालन गरिरहेको उनले बताए । सुवेदीले पछिल्लो समय मार्जिन ट्रेडिङ कारोबारसमेत सञ्चालनमा आएको जानकारी दिए ।
उनकाअनुसार धेरै ब्रोकर कम्पनीले मार्जिन लेन्डिङ कारोबार शुरु गरिसकेका छन् । लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको र त्यसबाट लगानीकर्ताले ट्रेडिङ सुविधा प्राप्त गरिरहेका छन् ।
नेप्से आफ्नो भूमिकाप्रति निरन्तर प्रतिवद्ध रहेको उल्लेख गर्दै सुवेदीले बजारका आवश्यकता पूरा गर्ने क्रममा उपलब्ध नियमावली, विनियमावली तथा कार्यविधिअनुसार काम भइरहेको बताए ।
उनले नयाँ वित्तीय उपकरण ल्याउने विषय नीति निर्माणसँग सम्बन्धित रहेको स्पष्ट पार्दै यस्ता उपकरणसम्बन्धी नीति मुख्यतः नेपाल धितोपत्र बोर्ड (सेबोन), अर्थ मन्त्रालयले तय गर्ने भएकाले नेप्सेले सम्बन्धित निकायबाट बनेका नीतिलाई कार्यान्वयन गर्ने भुमिका निर्वाह गर्दै आएको बताए ।
पछिल्लो समय नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिर्दै उनले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आएपनि त्यसलाई कार्यान्वयन गर्न नेप्से तयार रहेको उल्लेख गरे ।
मार्जिन लेन्डिङमा विभिन्न ब्रोकरबाट फरक–फरक मूल्य निर्धारण भएको विषयमा नेप्सेले निरीक्षण गर्ने पनि सुवेदीले बताए । उनकाअनुसार नेप्सेले तयार गरेको मार्जिन कारोबार कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् वा छैनन् भन्ने विषयमा निरीक्षण गरिनेछ ।
नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम को स्वामित्वसम्बन्धी प्रश्नमा सुवेदीले प्रणालीको स्वामित्व नेप्सेकै रहेको बताए । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरिएको र त्यस प्रक्रियाबाट कम्पनी छनोट गरिएको उनको भनाइ छ ।
उनकाअनुसार सिस्टमको सोर्स कोडदेखि सम्पूर्ण सञ्चालन तथा स्वामित्व नेप्सेकै रहेको छ । ब्रोकरहरूलाई सिस्टममा लगइन र पासवर्ड उपलब्ध गराएर ट्रेड म्यानेजमेन्ट सिस्टमसँग कनेक्ट गर्ने व्यवस्था गरिएको र टिएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकरकै रहेको सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस्