चितवनको भरतपुर महानगरभित्र ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’


भरतपुर । चितवनको भारतपुर महानगरपालिकाले घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु गरेको छ ।

स्वास्थ्यकर्मीहरूले नसर्ने रोग लागेका विरामीलाई सेवा दिने छन् । आज एक कार्यक्रमकाबिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ उद्घाटन गरेकी छन् ।

प्रमुख दाहालले दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रमको सुरुवात गरिएको बताइन् ।

उनले भनिन्,“थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।”

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ ।

पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुने छ र २५ दिनसम्म सञ्चालन हुनेछ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रमका लागि एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।

महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् ।