बोटलर्स नेपाल बालाजुको सेयरमूल्यमा उछाल, कारोबारको पाँचैदिन सर्किटब्रेक


काठमाडौं । पछिल्लो कारोबारको पाँच दिन नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा बोटलर्स नेपाल लिमिटेड (बालाजु)का सेयर धनीले सबैभन्दा धेरै कमाएका छन् ।

बिरलै कारोबार हुने उक्त कम्पनीको सेयरमूल्यमा लगातार सकरात्मक सर्किटब्रेक लागेको छ ।

आइतबार पनि कारोबार सुरु भएको केही बेरमै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

गत असोज १ गते प्रतिकित्ता २४५३.५ रुपैयाँमा कारोबार भएको थियो । ३ महिनासम्म कारोबार नभएको उक्त कम्पनीको सेयर मंसिर २५ गते सोमबार प्रि ओपन–सेसनमा २५०२ रुपैयाँमा कारोबार सुरु थियो । यस दिन कम्पनीको सेयरमूल्य १० प्रतिशत ३५९.१० रुपैयाँले बढेर २६९८.६ रुपैयाँमा पुग्यो ।

त्यसपछि लगातार बढेको कम्पनीको सेयरमूल्य कारोबारको पाँचै दिन सकरात्मक सर्किट लागेको । आज आइतबार कम्पनीको सेयरमूल्य सकरात्मक सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ भने सेयरमूल्य ३९५०.८० रुपैयाँ पुगेको छ ।

सेयरमूल्यमा उछाल आउँदा पछिल्लो ५ दिनमा १४४८.८ रुपैंयाँले बढेको छ ।

नेप्सेका अनुसार पछिल्लो एक वर्षमा कम्पनीको सेयर गत असार २५ गते साउन १ गते ७ गते र असोज ६ गते मात्रै सेयर कारोबार भएको छ ।

उक्त कम्पनीको सेयर किनबेच नै खासै नहुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

पराजुलीले भने “कारोबार रोकिएको होइन कम्पनीको सेयर नै थोरै छ त्यसैले किनबेच पनि एकदम न्यून हुन्छ ।”

कम्पनीको १९ लाख ४८ हजार ८ सय ८७ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ भने ६ अर्ब ९९ करोड ९८ लाख १७हजार ४ सय ३७ रुपैयाँ बजार पुँजीकरण रहेको छ ।