नाडालाई नवीन सोचका साथ अगाडि बढाउनेछुः चौधरी


काठमाडाैँ ।अटो व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी पुस २० र २१ गते हुने निर्वाचनमा अध्यक्ष पदमा करण चौधरीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । दुई वर्षीय कार्यकालका लागि यस निर्वाचनबाट नाडाले नयाँ नेतृत्व पाउने छ ।

चौधरी सिजी होल्डिङ्स प्रालिका कार्यकारी निर्देशक हुन् । उनी अघिल्लो निर्वाचनमा नाडाका वर्तमान अध्यक्ष ध्रुव थापासँग झिनो मतले पराजित भएका थिए ।

नाडाको अध्यक्ष पदका प्रत्यासी चौधरीसँग नाडा अधिवेशन, अटो मोबाइल क्षेत्रका चुनौति र अवसर लगायतका विषयमा केन्द्रित रही टक्सारले गरेको कुराकानीः

नेपालको अटोमोबाइल्स क्षेत्रको विगत र वर्तमान अवस्थालाई कसरी नियाल्नुु हुन्छ ?
अटो क्षेत्रले नेपालको जिडिपीमा १४ प्रतिशत योगदान छ । विगतको समयमा झन्डै ३० प्रतिशतसम्म योगदान दिएको थियो । जीवनस्तरमा वृद्धिसँगै व्यक्तिगत यातायातको आवश्यकता बढ्दै गएकोले उद्योग फस्टाउन थालेको थियो । यसले देशमा धेरै रोजगारी सिर्जना गर्नुको साथै आर्थिक विकासमा पनि ठुलो भूमिका खेलेको थियो । तर सरकारले विदेशी मुद्रा सञ्चितिमा कमि आएको भन्दै करिब नौं महिना सवारी आयातमा प्रतिबन्धका लगाउँदा यो क्षेत्रको व्यापार पनि खस्किएको अवस्था छ । सरकारले आयातमा खुकुलो गरे पनि कर्जा प्रवाह नहुनु, डाउन पेमेन्ट ५० प्रतिशत (इन्धन सवारी साधन)मा रहिरहनु , चर्को ब्याजदर र देशमा अहिले चलिरहेको आर्थिक मन्दीले सम्पूर्ण अटोक्षेत्र निकै प्रभावित भएको छ । विद्युतीय सवारीमा सरकारले दिएको लचकता निकै नै सराहनीय छ तर सम्पूर्ण अटो क्षेत्रलाई चलायमान गर्न सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।

वर्तमान समयमा अटो व्यवसाय लगायत अन्य क्षेत्र खस्किँदै गएको अवस्था छ । व्यापारको दृष्टिकोणले हेर्दा यसको भविष्य कस्तो देख्नुहुन्छ ?

हालको अवस्था हेर्ने हो भने स्थिति निकै भयावह छ । अटो व्यवसायीहरूको उठिबास हुने स्थिति आएको छ र यो समस्या प्रदेश तहहरूमा अझै बिकराल छ । यदि सरकारको नीति र दृष्टिकोण यही रहिरहने हो भने यो क्षेत्रको भविष्य अन्धकार देखिन्छ । हामीले यो बुझन जरुरी छ, अटो क्षेत्रसँग अटो बिक्रेता मात्र होइन, कम्पोनेट, एक्ससरिज लगायत लाखौँ नेपालीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । हाल राष्ट्र बैंकको अटो व्यवसाय र अटो कर्जा सम्बन्धी ल्याएको कडा नीति र तरलताको पूर्ण अभावको कारण बैंकको ब्याजसम्म तिर्न नसक्ने स्थितिमा व्यवसाय पुगेका छन्, जसका कारण व्यवसायीहरू आफ्नो व्यवसायबाट मात्र होइन देशबाट नै पलायन हुने अवस्थाको सिर्जना भएको छ । व्यवसायी पलायन हुनु भनेको देशमा रोजगारीको समस्या उत्पन्न हुनु हो ।

सरकारले सवारी साधनलाई विलासिताको वस्तु वा आवश्यकता भन्ने बहस जहिले चलाइरहन्छ । सरकार र उपभोक्तालाई यस विषयमा कसरी बुझाउन चाहानुहुन्छ?

मोबिलिटीलाई पुरै विश्वमा आधारभूत आवश्यकताको रूपमा राखेको छ । हाम्रो सार्वजनिक यातायात नेटवर्क अझै पर्याप्त छैन, यो अवस्थामा सवारी साधनलाई विलासिताको रूपमा राख्नु उचित हुदैँन ।

अटो क्षेत्रलाई नेपालका बैंक तथा वित्तीय संस्थाहरूले गरेको सहयोगलाई कसरी हेर्नु भएको छ ? यस सम्बन्धी समस्या र समाधानको विषयमा के भन्न चाहानुहुन्छ ?

अटो क्षेत्रको विकासमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ । आज अटो लोनले कार बिक्रीमा ९० प्रतिशत भन्दा बढी योगदान गर्दछ भन्दा फरक नपर्ला । तर आज नीतिगत रूपमा इन्धन सवारीमा जोखिमभारलाई १२५ प्रतिशतसम्म निर्धारण गर्दा कर्जा प्रवाह सरल रूपमा नहुन, ५० प्रतिशत रकम पहिले जम्मा गर्नुपर्ने व्यवस्था, र चर्को ब्याजदरले समग्र अटो क्षेत्र प्रभावित भएको छ । यसमा अगाडी कुरा भएजस्तै सवारी साधनलाई विलासिता भन्दा आवश्यकताको रूपमा लिनु जरुरी छ । इन्धन सवारीमा भन्सार घट्नुपर्छ भन्दिन तर सवारी खरिद गर्ने वातावरण सहज गर्नु निकै जरुरी छ ।

अटोमोबाइल क्षेत्रमा स्पेयर पार्टस र टायर व्यवसायको विषयले कम प्राथमिकता पाएको गुनासो सुनिन्छ । यसमा तपाईँको धारणा के छ ?

स्पेयर पार्टस् र टायर व्यवसायले अटो क्षेत्रमा ठुलो भूमिका निर्वाहा गर्दछ । समग्र अटो क्षेत्रको विकास स्पेयर पार्टस र टायर व्यवसायमा प्रत्यक्ष रूपमा निर्भर छ । म आगामी नाडाको अध्यक्ष पदमा निर्वाचित भएमा नेपालभरि रहेका स्पेयर पार्टस् र टायर व्यवसायहरूसँग नजिक रूपमा सहकार्य गर्ने मेरो प्राथमिकता हुनेछ । उहाँहरूको संलग्नताले सम्पूर्ण अटो क्षेत्र लाभदायी हुनेमा म विश्वस्त छु ।

पछिल्लो समय विद्युतीय गाडीको बजार विस्तार भएको देखिन्छ । पुराना पेट्रोलियम गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न सकिन्छ कि सकिदैँन ? तपाईँको दृष्टिकोण के हो ?

रेट्रोफिटिङ प्रक्रियाबाट पेट्रोलियम गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्न सकिन्छ ।हामीले पनि यसको परिक्षण गरेका थियौँ । तर यसको लागतलाई हेर्दा अलि फाइदाजनक भने देखिएन । टेक्निकल र सेफ्टीकाबारे पनि धेरै ध्यान जानु जरुरी देखिन्छ ।

विद्युतीय सवारीको भविष्य कस्तो छ ? समग्र अटो क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

विद्युतीय सवारीको भविष्य उज्ज्वल छ तर अझै पनि यसको पूर्वाधारको विकास चाहेको अनुरुप हुन बाँकी नै छ । तर त्यो भन्दैमा केही नभएको भने होइन, विकास हुदैँछ तर अझै सय प्रतिशत हुन समय लाग्छ । सरकारको नीति र सवारी खरिद गर्ने वातावरण सहज भएमा समग्र अटो क्षेत्रको भविष्य उज्ज्वल हुने छ । यो कुरामा पनि ध्यान जानु जरुरी छ कि अटो क्षेत्रले अटो व्यवसायी र अटो सम्बन्धी व्यवसाय मात्र होइन, समग्र अटो क्षेत्रलाई समेट्छ जस्तै बैंकिङ, बिमा, यातायात र सडक विकास । अटो व्यवसायमा ह्रास आउनु भनेको समग्र अटो क्षेत्रलाई नै नकारात्मक असर पर्नु हो ।

नाडाको अगामी नेतृत्वका लागि अध्यक्षको लागि औपचारिक रूपमा घोषण गरिसक्नु भएको छ । यसको पृष्ठभूमि कसरी तयार पार्नु भयो ?

यसलाई त्यो तरिकाले हेर्नुभन्दा पनि अघिल्लो पटकको निर्वाचन जुन तरिकाले चुनाव भनेर लागियो त्यो दुर्घटनापूर्ण नै थियो । अघिल्लो पटक म निर्वाचन लडेको हुँदा यो पटक पनि मेरो नै नाम अघि आउनु स्वभाविक हो । मैले अध्यक्षको लागि औपचारिक रूपमा घोषण गरे पनि म नाडाको निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न होस् भनेर जुटेको अवस्था छ ।

कुनै पनि एउटा संस्थालाई विभाजन हुनबाट रोक्नको लागि मुख्य विषय भनेको सर्वसम्मतमा नै जानु हो । सर्वसम्मत गर्नको लागि कसलाई के गर्न सकिन्छ भनेर पूर्व अध्यक्षदेखि विभिन्न अटो व्यवसायीहरूलाई भेटेको छु । त्यो भएर म पनि सर्वसहमति नै भनेर लागि परेको छु् । तर सर्वसम्मत भनेर लाग्दा लाग्दै पनि चुनावको मुखमा आएर फेरि निर्वाचन हुने अवस्था सिर्जना हुन सक्छ जुन फेरि एउटा दुर्घटना नै हुनेछ । त्यो दुर्घटनाले नाडालाई फाटो ल्याउने काम गर्ने छ । त्यो फाटो नल्याउनको लागि म निरन्तर अघि बढेको छु ।

अध्यक्षको तयारी गर्दै गर्दा तपाईँको नेतृत्तवको टिम कसरी तयार पार्दै हुनुहन्छ ?

मेरो नेतृत्तवको टिममा समेट्नु भनेको अटोमोबाइल्स व्यवसायीहरू समेटेको हो । स्पेयर पार्ट्सदेखि टायार व्यवसायीको सहितको टिम बनाउन सकियो भने त्यो निकै उचित हुन्छ । नाडा आयातकर्ताको लागि मात्रपनि होइन् भने एउटा पार्टस् व्यवसायलाई मात्रा पनि होइन् । यो क्षेत्रमा टायार, ब्याट्री, लुब्रीकेन्टस् व्यवासायीहरू आवद्ध हुनुहुन्छ । त्यो कारणले उहाँहरूको हकहितका लागि काम गर्नुपर्ने भएकाले टिम बनाउँदा सबैजना समेटिनुपर्छ । त्यो कारणले मैले कसैलाई पनि छुटाउँदिन् ।

नाडामा आउने प्रत्येक नेतृत्तवको चुनावी एजेन्डा हेर्दा स्पेयर पार्टस्देखि लुब्रीकेन्टस् व्यवसायीहरूलाई समेटेर ल्यौजाने, व्यवसायीहरूको समस्यालाई सरकार माझ पुर्याएर समाधानको बाटोमा ल्यौजाने भन्ने देखिन्छ तर त्यो खालको नेतृत्व अटो व्यवसायीहरूले नपाएको भनेर बेला बेला गुनासो गरेको पाइन्छ । तपाईँलाई अध्यक्षमा निर्वाचित गराएर तिनीहरूको समस्यालाई सरकार माझ लगेर समाधान गर्नुहुन्छ भन्नेमा कसरी विश्वस्त पार्नुहुन्छ ?

आजको दिनसम्म नाडालाई यहाँसम्म ल्याउनको लागि महत्वपूर्ण काम गरेको नै नाडाका पूर्वअध्यक्षहरूले हो । पूर्व अध्यक्षहरूको योगदानका कारण नै नाडाको उचाइ यहाँसम्म आएको छ । सरकारको आफ्नो काम गर्ने कार्यशैली छ । नाडाको नेतृत्वमा म चयन भए भने मेरो एजेन्डा भनेको एउटा निजी क्षेत्र जसरी सञ्चालन हुन्छ । उद्देश्य, गोल, टाइमलाइन सबै राखेर नेतृत्व चलाउने म तत्र्पर रहने छु ।

हामी जहिले पनि के गर्ने भनेर केन्द्रित हुनुभन्दा पनि समयको सीमा राख्नुका साथै आफ्नो दायित्व राख्यो भने कसले काम गर्न सकेको छ कि छैन भन्नेमा ध्यान जानु पर्छ । मेरो उद्देश्य भनेको अटो मोबाइल्स क्षेत्र जुन तरिकाले पछाडि परेको छ । सरकारले पनि अटोमोबोइल्स भनेर जुन तरिकाले तल्लो स्तरमा राखेको छ त्यसलाई फेरि आत्मआलोचना गराएर यसको सामाधान गर्नको लागि लाग्ने छु ।

त्यस्तै अहिले अटो क्षेत्रमा होमिएका साथीहरूको समस्या धेरै छन् । जसले गर्दा यस क्षेत्रबाट नै पलायन हुनुपर्ने बाध्यताको अन्त्य गरेर यसलाई संरक्षण गर्नुपर्ने नै नाडाले हो भनेर म मान्छु । त्यस्तै म निर्वाचित भएपछि दुईवर्ष यो क्षेत्रमा लागेका व्यवसायीहरूलाई कसरी संरक्षण गर्ने हो भन्नेमा केन्द्रित हुनेछु तर म यो भन्दिन् व्यवसायीहरूले लिएको ऋण मिना गर्छु । यदि उनीहरू साच्चिकै समस्यामा छन् भने उनीहरूलाई बचाउनको लागि हरेक समय तत्पर रहने छु ।

कोभिड १९ को महामारीदेखि सरकारले सवारी आयातमा लगाएको प्रतिबन्धका कारण अटो व्यवसायीहरू समस्यामा परे । समाधान गर्नको लागि वर्तमान कार्यसमितिले सरकारसँग लबिङ गरिरहँदा तपाईँको सक्रियाता देखिएन् भन्ने गुनासो छ । अब तपाईँले आउँदो नेतृत्व सम्माल्ने सोच अगाडि बढाइ रहँदा सदस्यहरूले विश्वास गर्ने आधार के छ ?

म आफूले यो विश्वास राख्छु कि कुनै पनि कुराको पद लिएपछि त्यसको पूर्ण निर्वाह गर्न सक्नुपर्छ । म नाडामा उपाध्यक्ष हुँदा कुनै पनि एउटा बैठक थिएन् जुन बैठकमा म सहभागी भइन् । व्यवसायीको समस्या समाधान गर्नको लागि हरेक सरकारी निकायमा गएर लबिङ् गर्नुदेखि समाधान गर्न तर्फ निकै राम्रोसँग लागेको थिए । कुनै ठाउँ यस्तो सिर्जना भएन् जहाँ म पुगेको थिइन् । नाडाबाट म हारमा स्वीकारेर मैले आउने अध्यक्षलाई काम गर्न दिनुपर्छ ।

अघिल्लो निर्वाचनकै कुरा गर्ने हो भने १७ जनाको कार्यसमिति मध्ये १२ जना सदस्य मैले पु¥याएको नै हो । उहाँहरू त्यहाँ बसेर मेरो नेतृत्व गरिरहनु भएको छ । मान्छेले अहिले पनि भन्छन् । दुई वर्ष करण कहाँ हरायो ? म त नाडामा नै थिए त । मेरो त्यत्रो १२ जनाको टिम नाडामा हुनु भनेको करण एक जना नहुँदैमा केही हुँदैन ।

म पनि नाडाको एउटा सदस्य त हो नि आज हामीले जुन तरिकारले आन्दोलन ग¥यौं, म त्यसमा सहभागी भएको नै हो । आज म हरेक प्रदेशका व्यापारीहरूसँग भेटघाट गरेको नै छु । यो पटक म त्यी विगतका कमी–कमजोरीलाई स्विकारेर अझै सबल रूपमा अघि बढ्ने छु ।

तपाईँ यदि निर्वाचनमा नै होमिनु पर्ने बाध्यता आयो भने त्यो बेला तपाईँलाई क -कसको समर्थन रहनेछ ?

समर्थन भन्ने कुरा तब आउँछ जब चुनावमा होमिनुपर्छ । समर्थन दिने वा नदिने भनेको एउटा फाटो बनाउनु हो । म फाटोको विरोधमा छु । हामी एउटा वस्तुगत संघ हो एफएनसीसीआईको । एफएनसीसीआईको वस्तुगत संघ भएर फाटो बनाउनु राम्रो पनि होइन् । मेरो सिधा उद्देश्य के हो भने नाडा अटो क्षेत्रको छाता संगठन हो । यही चिजले अटोमोबाइल्स क्षेत्रको हितमा काम गर्नुपर्छ । यहाँबाट आएको निचोडको कुरा एफएनसीसीआईले लिनुपर्छ । आजसम्म त्यो लिएको छ कि छैन भन्ने कुरामा म बहस गर्न चाहदिन् । अब त्यो गर्नुपर्ने एकदम जरुरी बेला आएको पनि छ । त्यो गर्नुहुन्छ भने म कसको प्यानल भन्ने लाग्न चाहदिन् ।

अघिल्लो निर्वाचनमा पराजित भएपछि नेतृत्व भन्दा बाहिर बसेर हेर्दा नाडाको मुख्य मुद्दाको विषय के रहेछन् ? त्यस्ता मुद्दाहरू सरकार सामु स्थापित गर्न किन सकिएन् ?

अहिलेको मुख्य मुद्दा भनेको नाडामा जति पनि सदस्यहरू छन् उनीहरूको जीविका रक्षा गर्नु हो । त्यो जिविका रक्षा गर्ने हो भने अरू केही चाहिदैँन् । समय सापेक्ष हुनुपर्छ ।

अध्यक्षको लागि औपचारिक रूपमा घोषण गरिरहँदा व्यवसायको लागि तपाईँको मुख्य एजेन्डा के हो ?

मेरो लागि मुख्य एजेन्डा भनेको नाडाका सदस्यदेखि अन्य अटो व्यवसायीहरूको समस्यालाई समाधान गर्नु नै हो । आजको दिनमा अटो व्यवसायीहरूलाई व्यापारको बारेमा सोध्ने हो भने निन्याउरो मुख देखाउँछन् । त्यो भएर मेरो एजेन्डा भनेको उनीहरूको हँसिलो मुहार बनाउने हो ।

आर्थिक मन्दीदेखि सरकारको नीतिसम्म देखिएको समस्याका बाबजुद त्यो कसरी समम्भव छ त ?

म अझै बुझ्छु । सरकारलाई यो क्षेत्रको वास्तिवकता राम्रोसँग बुझाउन सकियो भने सरकारले पनि हेर्छ । यो चिजमा सरकारले नचाहने भन्ने छैन । तथ्यांकता, व्यवहारिकता र संग्लनता भयो भने सरकारलाई अवश्य पनि बुझाउन सक्छौँ भन्ने मलाई लाग्छ ।

अटोमोबाइल्स क्षेत्रको योगदानदेखि यहाँको समस्याको बारेमा सरकारलाई बुझाउनको लागि दुई वर्षको नेतृत्वले प्रयास गरेको नै थियो त ?

कहिलेकाहिँ भनेको तरिका र गरेको तरिका नमिलेको हिसाबले चुक्न सकिन्छ । म अलि फरक व्यक्ति छु । मैले गर्दा त्यो बुझाउन सक्छु कि । मिहिनेत गर्न छोड्न हुँदैन । आशा राख्नु छोड्न हुँदैन भन्ने मलाई लाग्छ ।

अघिल्लो पटक पनि नेतृत्व चयन सर्वसम्मतिमा हुन्छ कि भन्दा भन्दै पनि निर्वाचन हुन पुग्यो ।यो पटक सर्वसम्मतिमा नै नेतृत्व चयन हुन्छ भन्ने कसरी पत्याउने ?

सर्वसहमतको ढोका म बन्द गर्दिन । अघिल्लो पटक पनि चुनाव हुनुभन्दा अघिल्लो रात पनि हामीहरू एकदम जुटेको हो । केही कारणबस मिल्न सकिएन । यो चिजमा विगतको कुरालाई कोटाएर घाउलाई फेरि ताजा बनाउन हुन्न भन्छु । मेरो तर्फबाट सर्वसहमतिको ढोका बन्द हुदैँन् । त्यो बन्द नहुने भएकाले नै मैले आफ्नो टिमको बारेमा अन्तिम निर्णय गरेको छैन् ।