अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गर्न पर्यटनमन्त्री किराँतीको प्रस्ताव


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले नेपालमा बनेका र अब बन्ने अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा सञ्चालन गर्न प्रस्ताव गरेका छन् ।

मन्त्री किराँतीले बनिसकेका र बनाउने तयारीमा रहेको विमानस्थललाई सार्वजनिक निजी साझेदारी ढाँचामा सञ्चालनका लागि अध्ययन अगाडि बढाउने तयारी समेत गरेको जानकारी दिए ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा आज बोल्दै मन्त्री किराँतीले त्रिभुवन अन्तराष्ट्रिय विमास्थल, गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थललाई पिपिपी मोडेलमा सञ्चालनका लागि छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

मन्त्री किराँतीले राजनीतिक दबावको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पारे ।

राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरू प्रयोगमा आउन नसकेको उनको भनाई थियो । मन्त्री किरातीले भने,“ पिपिपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर यो पनि हामीले अध्ययन समिति बनाउँदैछौं । अध्ययन समिति नबनाउँदा फेरि हचुवा होला ।”

अध्ययन नगरी योजनाहरू बनाउँदा अहिले लथालिङ्ग भएको मन्त्री किरातीको भनाई थियो ।

उनले भने,“ म कडाईका साथ भन्छु–राजनीतिक दबाबको आधारमा अव एयरपोर्ट बन्दैन र बनाउनु पनि हुँदैन । कति एयरपोर्ट बनाउने नेपालमा ?” उनले संसारभरका ठुला र आकर्षक एयरर्पोट पिपिपी मोडेलबाटै चलेको भन्दै यसतर्फ जानुपर्नेमा जोड दिए ।

उनले भने, “सुरक्षाको प्रश्न जहाँसम्म नेपालमा देखाइन्छ । यो पुरानो कुरा हो । सबभन्दा सुरक्षा चुनौती भएका विमानस्थल पनि यै ढाँचामा चलेको छ नि । यो पनि फेरी मन्त्रालय र मन्त्रीको विषय होइन । राष्ट्रिय विषय हो । यसमा सबै राजनीतिक दलहरुले साझा एजेण्डा बनाउँदा यो अघि जानसक्छ ।”

मन्त्री किराँतीले आफूले मन्त्रालयको नेतृत्व लिएपछि नेपाल वायुसेवा निगमको व्यवस्थापनतर्फ ५ अर्ब नाफा भएको दाबी समेत गरे । आफू मन्त्री भएपछि यता निगमले व्यवस्थापन खर्चतर्फ मुनाफा लिई ५ अर्ब ऋण तिर्न सफल भएको उनको भनाई थियो ।