सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन: गभर्नर अधिकारी


काठमाडाैँ । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।

अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम गरेकाे छ ।

कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उनले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे । वित्तीय साक्षरताको प्रवद्र्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने गभर्नर अधिकारीको भनाइ थियो ।

उनले भने, “राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो ।”

ग्लोबल मनी विकका साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् । सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह गरे ।

चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने जनाइएकाे छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री रअन्तर्वार्ताहरू प्रसारण गरिनेछन् ।

यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।