बुद्ध एयरले एकै वर्षमा गर्‍यो १२ अर्ब १६ करोड रूपैयाँ भन्दा बढीकाे कारोबार


काठमाडौँ । बुद्ध एयरले एकै वर्ष १२ अर्ब १६ करोड भन्दा बढीको कारोबार गरेको छ ।

सन् २०२२ को १० अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार गरेको बुद्ध एयरले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबर कारोबार गरेको छ ।

बुद्ध एयरको कारोबार सन् २०२२ को तुलनामा २०२३ मा २०.५० प्रतिशतले बढेको हो । सन् २०२४ को पहिलो त्रैमासमा नै बुद्ध एयरले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कोभिडका कारणले २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरको मात्रै कारोबार गरेको थियो ।

कोभिडको अन्त्यसँगै बुद्ध एयरको कारोबारमा बढोत्तरी देखिएको हो । बुद्ध एयरले दीर्घकालीन र अल्पकालीन कर्जाको रेटिङ गराएको थियो ।

इक्राले गरेको रेटिङमा बुद्ध एयरले दीर्घकालीन कर्जामा (इक्रा एनपी एल ए माइनास रेटिङ) पाएको छ भने अल्पकालीन कर्जामा (इक्रा एनपी ए टु प्लस) रेटिङ पाएको हो । आन्तरिक वायुसेवा अन्तर्गत सबैभन्दा ठुलो कम्पनी बुद्ध एयरले २७ वर्षदेखि हवाई सेवा दिँदै आइरहेको छ ।

कम्पनीले ६० करोड ८३ लाख रुपैयाँ र २५.५१ मिलियन अमेरिकी डलर दीर्घकालीन र ९९ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । समग्रमा बुद्ध एयरले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ र २ करोड ५५ लाख अमेरिकी डलरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।