त्रिदेशीय रक्षा सम्झौता इरान लक्षित होइनः टर्कीका विदेशमन्त्री हकान फिदान


टर्कीका विदेशमन्त्री हकान फिदानले हालै हस्ताक्षरित मक्का संयुक्त रक्षा सम्झौता इरान लक्षित नभएको स्पष्ट पारेका छन् । शनिबार टर्कीको अनादोलु एजेन्सीसँग कुरा गर्दै विदेशमन्त्री फिदानले उक्त सम्झौता पूर्ण रूपमा रक्षात्मक प्रकृतिको भएको र यसले हस्ताक्षरकर्ता राष्ट्रहरूलाई वाह्य आक्रमणबाट जोगाउने उद्देश्य मात्र राखेको बताए ।

विदेशमन्त्री फिदानकाअनुसार यो सम्झौताको तयारी विगत दुई वर्ष आठ महिनादेखि भइरहेको थियो । यस प्रक्रियामा हस्ताक्षरकर्ता राष्ट्रहरूका साथै अन्य क्षेत्रीय देशहरू पनि संलग्न रहेको उनले जानकारी दिए । 

उनले भने, “हामीले कुनै पनि मुलुकलाई लिखित रूपमा साझा खतराका रूपमा उल्लेख गरेका छैनौँ । यो सम्झौताले त्यस्ता कुनै पनि देशलाई निशाना बनाउँदैन जसले हस्ताक्षरकर्ता राष्ट्रहरूमाथि आक्रमण गर्दैन । इरान यस सम्झौताको निशानामा छैन ।”

उनले यस सम्झौतालाई प्राविधिक रूपमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को धारा ५ को सामूहिक रक्षा प्रणालीसँग तुलना गरे । यस व्यवस्था अन्तर्गत, सदस्य राष्ट्रहरूले एक–अर्काबाट सुरक्षात्मक सहयोग प्राप्त गर्न सक्नेछन् ।

आक्रमणमा परेको देशले आफ्नो आवश्यकता अनुसार गुप्तचर सूचना, सैन्य उपकरण वा सैन्य इकाइ लगायतका सहयोग माग गर्नसक्ने प्रावधान रहेको छ । सम्झौता कार्यान्वयनका लागि विदेश र रक्षा मन्त्रीहरू तथा प्रधान सेनापतिहरू सम्मिलित एक राजनीतिक र सैन्य समिति रहने र यसको सचिवालय साउदी अरबमा रहने बताइएको छ ।

फिदानले इजिप्टलाई यस सम्झौताको प्राकृतिक साझेदार भन्दै आगामी चरणमा इजिप्ट पनि यसमा सहभागी हुने विश्वास व्यक्त गरे । उनकाअनुसार अन्य थुप्रै देशहरूले पनि यस गठबन्धनमा सामेल हुन चासो देखाएका छन् । 

साउदी अरब, टर्की र पाकिस्तानबिच शुक्रबार साउदी अरबको मक्कामा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार तीन मध्ये कुनैपनि एक देशमाथि भएको सशस्त्र आक्रमणलाई सबै राष्ट्रमाथिको आक्रमण मानिनेछ । मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका बिच यो महत्वपूर्ण रक्षा सम्झौता भएको हो ।