कर्णालीका पाँचवटा स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको ‘न्यानो नानी’


काठमाडौँ। ज्योति विकास बैंकले कर्णाली प्रदेशका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेको पाँचवटा स्वास्थ्य चौकीलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने न्यानो नानी (बेबी वार्मर) मेसिन प्रदान गरेको छ।

बैंकले जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी नवजात शिशु र बाल मृत्युदर उच्च रहेको जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई न्यानो नानी उपकरण उपलब्ध गराएको जनाएको छ।

सन् २०२२ मा गरिएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा २१ मृत्यु हुने गरेको छ ।

यस मृत्युदरको आधारमा नेपालमा ३० मध्ये १ बालबालिका आफ्नो पाँचौं जन्मदिन सम्म बाँच्दैनन् । बाल मृत्युदर भने समय संगै घटेको छ । सन् १९९६ देखि ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा ११८ बाट घटेर हाल मृत्युदर प्रति एक हजार जीवित जन्ममा ३३ मा झरेको छ ।

हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान गरेको हो। हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँका ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ।

विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थाहरुमा प्रदान गरेको बैंकले जनाएको छ।

हाइपोथर्मिया पश्चात् जीवन जोखिम र उपचारको लागि २ दिन लाग्ने गरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सो मेसिनहरू प्रदान गरेको हो।

मेसिनहरु जडान पश्चात् जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थित विराट स्वास्थ्य चौकी, कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ९ स्थित स्वास्थ्य चौकी चिल्खाया, मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर २ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

अस्पतालहरूमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरूबाट उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिकाबिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

साथै, सोही कार्यक्रमकाबिच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो । उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।