रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताए ।

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको जानकारी दिए ।