वालेट कम्पनीहरूको नियमन र अनुगमन प्रभावकारी बनाउन सांसद घर्तीले गराइन् ध्यानाकर्षण


काठमाडौँ । सांसद इश्वरी घर्तीले वालेट कम्पनीहरको प्रभावकारी नियमन र अनुगमनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा घर्तीले नेपालमा २ दर्जन भन्दा बढी वालेट कम्पनी रहेको र यसको प्रभावकारी नियमन र अनुगमनका लागि सभामुख मार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराएकी हुन् ।

उनले पछिल्लो समय डिजिटल भुक्तानी बढ्दा दैनिकी सहज भएपनि यसको विश्वास जोगाइराख्ने चुनौती देखिँदै गएको बताइन् ।

“नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते सूचना जारी गरेर सजिलो पे र पे वेलको सम्पूर्ण बैंक खाताहरु रोक्का गर्‍यो। यी वालेटहरूले गरेको हुण्डी कारोबारको सम्बन्ध राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते बरामद गरेको ६० किलो ७ सय १६ ग्राम अवैध सुनसँग जोडिएको छ । यीनै कम्पनी मार्फत अवैध सुनको रकम भुक्तानी गरेको भेटिएको थियो,” उनले बताइन् ।

यी दुई वालेट कम्पनीले स्थापनाकालदेखि १ खर्ब २३ अर्ब ११ करोड रुपैयाँको कारोबार गरेकोे र यो रकममध्ये ९६ अर्ब रुपैयाँ बराबरको रकम भौचर डिपोजिटबाट भएको देखिएको उनले उल्लेख गरिन्।

“वालेटबाट बैंकमा र बैंकबाट वालेटमा कारोबार गर्नुपर्ने रकम सिधै भौचरबाट डिपोजिट गरिएको थियो जुन अवैध हो । वालेट कम्पनीहरूले युटिलिटी पेमेन्ट नगरी अर्बौ रुपैयाँ अवैध रहेको हुण्डी कारोबार गरेको देखिएको हो,” उनले भनिन् ।

https://www.facebook.com/taksar.nepal/videos/862318045826848