मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्नेछः अर्थमन्त्री पौडेल


काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेहरुमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताए ।

उनले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रुपमा आएको उल्लेख गरे । अर्थतन्त्र चलायमान र गतिशील हुने बताए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको उल्लेख गरे । 

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रुपमा निर्देशन दिएको बताए । कुनैपनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको उनकाे भनाइ छ । उनले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको जानकारी दिए। 

उनले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभुत भएको भन्दै कानूनसम्मत प्रवन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताए ।