भृकुटीमण्डपमा फूड, बेभरेज र हस्पिटालिटीको एक्स्पाे हुने


काठमाडौं । खानाको परिकार तथा समग्र हस्पिटालिटी क्षेत्रको उत्थानका लागि एक्स्पाेआयोजना हुने भएको छ । खानाका पारखी र हस्पिटालिटी क्षेत्रमा जोडीएका फरक क्षेत्रका मानिस र व्यावसायिलाई एउटै छानोमुनी जोड्दै ‘जीएआइ फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४’ एक्स्पाे हुने भएको हो ।

भृकुटीमण्डपको प्रद्धशनी हलमा भदौ २८ देखि ३० गते सम्म आयोजना हुने उक्त एक्स्पाे खासगरि ‘बिजनेश टू बिजनेश’ मोडलमा सञ्चालन हुने भएपनि खानाका पारखीहरुका लागि समेत एक्स्पाे विशेष रहेको आयोजकको अपेक्षा छ ।

फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२४ ले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्टअपको पहुँचमा एक्स्पोलाई पुर्याउन ‘साना व्यवसाय मार्ट’ पनि सुरुवात गर्ने भएको छ।

पर्यटक आगमनमा भएको पुनरुत्थान र देशैभरी तारे होटलहरूमा भएको लगानीले नेपालको हस्पिटालिटी उद्योगको आकार दिनप्रति बढ्दै गइरहेको छ । विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको तथ्याकंले नेपालमा हस्पिटालिटी उद्योग बजार सम्भावना बताउछ । कम्पनीहरूले उच्च प्रतिस्पर्धी बजारमा उद्योगहरुले उल्लेखनीय ब्यापार बढाउन प्रत्यक्ष बजार प्रोत्साहन गर्ने अवसर पाउने छन् ।

नेपालमा खाद्य तथा पेय पदार्थको क्षेत्रमा कुल २५ हजार ५ सय उद्योग तथा कम्पनी दर्ता छन्। यसमध्ये २४ हजार ९४० प्रतिष्ठान खाद्यान्न उत्पादनमा संलग्न छन् भने अन्य ५६० उद्योग प्रतिष्ठान पेय पदार्थ उत्पादनमा संलग्न छन् । एस्पोमा सहभागी हुने कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा प्रभाव र नयाँ ग्राहक बढाउन सक्नेछन् ।

विगत चार वर्षमा पहिलो पटक पर्यटक आगमनको संख्या १२ लाख नाघेको तथ्याकंले नेपालमा हस्पिटालिटी उद्योग बजार सम्भावना बताउछ। एक्स्पाेमा होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी प्यालेस र क्यान्टिन, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरु क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरू एउटै छानामुनी उपलब्ध हुने भएकाले उत्पादक, वितरक, आयात तथा निर्यातकर्ताहरुले समेत लाभ लिन सक्ने छन् ।

खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रहरूको उत्साहजनक वृद्धि र विस्तारको पृष्ठभूमिमा आगन्तुकहरूले उत्पादन तथा सेवाहरू साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन र चयन गर्न सक्नेछन्। गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशत बढ्ने जनाइएकाे छ। एक्स्पाेमा लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये
लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको आयाेजकले जनाएकाे छ ।