बुधवार बिहानदेखि कान्ति राजमार्ग पूर्ण रुपमा सञ्चालन हुने


काठमाडाैँ । अवरुद्ध कान्ती राजमार्ग बुधवार बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सो ठाउँको अनुगमन गरेको हो ।

सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए ।

उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको उल्लेख गरे । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताए ।

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले आज आफूहरुले वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेको उल्लेख गरे ।

उनले सो क्रममा कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताएका छन् ।

अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको उनले जानकारी दिए । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको उनकाे भनाइ छ । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको उनले बताए । 

ललतिपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरु ६ सयदेखि ८ सय रहेको अनुमान गरेको उनकाे भनाइ छ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भएपनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने उनले बताए ।