नयाँ पार्टीहरूलाई तर्साउन खोजिएको छ, प्रतिरोध गरौँ: सुमना श्रेष्ठ


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले वर्तमान सत्ताले नयाँ सोच र नयाँ पार्टीलाई हेपेको बताएकी छिन्। रास्वपाले मङ्गलवार बालुवाटारमा आयोजना गरेको प्रतिरोध सभामा उनले दुई पुराना दलको सरकारले नयाँ दलहरूलाई थर्काउन, तर्साउन र फुटाउन खोजेको आरोप लगाइन्।

“नेपालीहरू निसास्सिएका छौँ। रास्वपा त जनताको प्रतिरोधमै जन्मिएको पार्टी हो। प्रतिरोधलाई गलाउन खोजिदैछ। थकाउन र तर्साउन खोजिँदैछ। फुटाउन खोजिदैँछ। यसको प्रतिकार गर्न हामीमा आत्मविश्वासमा हुनुपर्,” श्रेष्ठले भनिन्।

कसैलाई काखा कसैलाई पाखा नहोस् भनेर खबरदारी गर्न आयोजना भएको शान्तिपूर्ण खबरदारी सभामा राज्यले बल प्रयोग गरेकोमा विरोध गरिन्। “अब ढोँगी चरित्र चल्दैन। हामीले यो दलदलबाट देशलाई निकालेरै छोड्छौँ,”’ उनले भनिन्, “नयाँ सोचलाई हेप्ने प्रवृत्ति देखिएको छ। यसको प्रतिकार गरौँ।”

सहकारीसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा सिफारिस गरिएका संस्थागत सुधारतर्फ ध्यान दिए सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन उनले माग गरिन्।