गेट कलेज र जापानको एलपीको समूहबिच साझेदारी, जापानको आतिथ्य क्षेत्रमा रोजगारी र सीप विकासको अवसर पाउने


काठमाडौं । काठमाडौंको प्रतिष्ठित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले जापानको एलपीको समूहसँग विश्वस्तरीय आतिथ्य प्रशिक्षण र रोजगारीका अवसरहरूलाई प्रोत्साहित गर्न नयाँ साझेदारीको घोषणा गरेको छ।
स्वीस होटल एसोसिएसन (एसएचए)बाट सम्बन्धत प्राप्त तथा विश्वकै प्रतिष्ठित शिक्षण संस्था ईएचएलको सदस्य गेट कलेजले यो सम्झौतासँगै नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य उद्योगमा दक्षता प्रदान गर्न थप एक महत्वपूर्ण कदम चालिएको बताएको छ ।

गेट कलेजका अनुसार सम्झौताले नेपाली विद्यार्थीहरूलाई जापानको विश्वस्तरीय आतिथ्य क्षेत्रमा सहभागी हुने, व्यावहारिक अनुभव प्राप्त गर्ने, र अन्तर्राष्ट्रिय स्तरको दक्षता हासिल गर्ने अवसर प्रदान गर्नेछ। यस साझेदारीमार्फत गेटका विद्यार्थीहरूलाई एलपीको समूहले प्रशिक्षण र इन्टर्नशिप कार्यक्रमहरू उपलब्ध गराउनेछ, जसले उनीहरूलाई जापानको आतिथ्य क्षेत्रमा प्रत्यक्ष सहभागी गराउँदै आवश्यक सीप प्रदान गर्नेछ कलेजले जानकारी दिएको छ ।
यो सहकार्यले नेपाली विद्यार्थीहरूलाई जापानमा उपलब्ध उच्चस्तरीय आतिथ्य अनुभव र दक्षता हासिल गर्दै नेपाल फर्केर यहाँको पर्यटन उद्योगलाई सशक्त बनाउने उद्देश्य राखेको गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकत खेम लकाइँ बताउँछन् ।

गेट कलेज क्याम्पसमा सम्पन्न सम्झौता (एमओयू) हस्ताक्षर कार्यक्रममा म्याट्सुमोटो सिटी अफिसका मेयर योशिनाओ गाउन, एलपीको होल्डिङ्सका महाप्रबन्धक योशिहिरो मात्सुकी, म्याट्सुमोटो सिटी अफिसकी सहायक प्रबन्धक सुश्री मारु अशिदा, र गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई, डीन डा. जीवकराज बज्राचार्य, प्रमुख सञ्चालन अधिकृत इन्द्र खड्का लगायत गेटका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति थियो।
गेट कलेजले एलपीको समूह र म्याट्सुमोटो सिटी अफिसप्रति नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय अनुभव हासिल गराउन र नेपालमा दक्षता हस्तान्तरणमा महत्वपूर्ण सहयोगका लागि आभार व्यक्त गरेको कलेजद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“यो सम्झौताले गेट कलेजको लक्ष्यअनुसार विद्यार्थीहरूलाई आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली नेतृत्वकर्ता बन्न प्रेरित गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।