काठमाडाैँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन्।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका हुन् । उनले पुँजीबजार सम्बन्धि नियामक निकायले यस्ता कार्यहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए ।
उनले सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानिकताको जोखिम बढ्ने अवस्था रहेको बताए । उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको बताए । “कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ । यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ । सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ । सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ,” उनले भने ।
उनले पछिल्लो समय शेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गरे । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए ।उनले सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्