काठमाडौँ । २०८१ असार मसान्तसम्म कोशी प्रदेशमा कुल निक्षेप परिचालन ४ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यो २०८० असार मसान्तको तुलनामा १३.३८ प्रतिशतले बढेको हो । २०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेका थिए ।
सर्वसाधारणमा खर्च गर्ने प्रवृतिमा कमी आएको, रेमिट्यान्स आप्रवाह बढेको तथा वित्तीय सेवाको पहुँचमा विस्तार भएकाले निक्षेप परिचालन बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७६.७३ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २३.२७ प्रतिशत रहेको छ ।
जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.२२ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.३१ प्रतिशत योगदान रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले २०८१ असार मसान्तसम्म ५ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले २०८१ असार मसान्तसम्म ५ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८१ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.३५ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २४.१२ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.५३ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तमा कृषि कर्जाको हिस्सा १०.९७ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा २३.१६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.८७ प्रतिशत रहेको थियो ।
कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८७.१० प्रतिशत रहेको छ भने अन्य जिल्लाको १२.९० प्रतिशत रहेको छ । जिल्लागत कर्जा प्रवाहको आधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४३.९३ प्रतिशत र ताप्लेजुङ जिल्लाको हिस्सा सबैभन्दा कम ०.४८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्